परिचय

घोडताप्रे/घोलटाप्रेक्लोनल, बाह्रमासी लहरे झार हो। यो स्वादहीन, गन्द रहित हुन्छ र पानीको मुहान वा त्यसको छेउ छाउमा र दलदले माटोमा बढी फैलिन्छ। यसका पातहरिया, पंखा आकारका हुन्छन् र फूलको रंग भने सेतो, बैजनी वा गुलाबी हुन सक्छ जसको सानो अण्डाकारको फल लाग्छ।

यो झारको पुरै भाग औषधिको रूपमा प्रयोग गरिन्छ। घोडताप्रे प्रायः उष्णकटिबंधीय र उपोष्णकटिबंधीय देशहरूमा पाइन्छ। मुख्यतः ती देशहरू भारत, नेपाल, पाकिस्तान, श्रीलंका, माडागास्कर, दक्षिण अफ्रिका, दक्षिण प्रशान्त, पूर्वी युरोप हुन्।

उपयोगिता

रक्तशोधक, उक्त रक्तचाप नियन्त्रण, मेमोरी वृद्धि र दीर्घायु यसका व्यापक उपयोगिता हुन्। आयुर्वेदमा कोषको पुनरुद्धार र मस्तिष्क कोष विकासका निम्ति घोडताप्रे प्रयोग गरिन्छ।

भावनात्मक विचलनता जस्तै डिप्रेसन, चिन्ता जुन शारीरिक समस्याका मूल कारण बनेका छन् उनीहरूको निवारणमा पनि यसलाई प्रयोग गरिएको छ। पश्चिमी चिकित्सामा १२ औँ शताब्दीदेखि यसबाट निकालिएको अल्कोहल यक्सट्रयाक्टलाई कुष्ठ रोगको उपचारमा प्रयोग गरिएको थियो।

यसका मुख्य ११ वटा उपयोगी गुणहरू रहेका छन्। ती हुन्: एन्ट्याकान्सर, जीवाणुरोधी, एन्टिफंगल, एन्टिइनफल्मेटोरी, न्युरोप्रोटेकटिभ, एन्टीअक्सीडेन्ट, घाउ निको पार्ने, उदासीनता विरोधी, एन्टिडायबेटिक, संज्ञानात्मक विकास र कलेजोको संरक्षण।

घोडताप्रेमा पाइने मुख्य तत्वहरू

घोडताप्रेको प्राथमिक सक्रिय तत्व स्यापोनिन्स हो जसलाई ट्राइटरपेनोइड्स पनि भनिन्छ। ट्राइटरपीन स्यापोनिन्स र स्यापोजेनिन्सको मुख्य कार्य भनेको घाउ निको पार्नु हो। यसमा रहेका ब्रामोसाइड र ब्रामोनिसाइडले केन्द्रीय स्नायु प्रणाली र गर्भाशयमा आराम पुर्याउने काम गर्छ।

सेन्टेलोसाइड र यसका व्युत्पन्नहरू सिरा परमा हुने उक्त रक्तचापको उपचारमा प्रयोग हुन्छ। घोडताप्रेबाट निकाल्न सकिने अन्य तत्वहरु स्टेरोल, ट्यानिन, आवश्यक एसिड, फाइटोस्टेराँल, फल्याभोनोइड्स, म्युसिलेज, रेसिन, एमिनोएसिड, अल्कलोइड्स र फ्याट्टिएसिड हुन्।

प्रयोग विधि

यसको ६०० एमजिसुकेका पात दिनको तीन पटक सेवन गर्न सकिन्छ। छालाको समस्याका लागि बजारमा गोली र मल्हम दुवै पाइन्छ। १० एमजी गोली दिनको तीन पटक खान र मल्हम दिनको दुई पटक लगाउन उपयुक्त हुन्छ।

सुकेका पात १-२ चिया चम्चा अर्थात् १५० एमएललाई तातो पानीमा १०-१५ मिनेट पकाएर दिनको तीन पटक सेवन गर्न सकिन्छ। घोडताप्रेको मुख्य तत्व स्यापोनिन्स टेबलेट पनि बजारमा उपलब्ध हुन्छ र त्यसको जम्मा ६० एमजी दिनको एक वा दुईचोटि सेवन गर्न सकिन्छ।

अपनाउनु पर्ने सावधानी

तोकिएको मात्रामा खुराक खाँदा त्यसमा कुनै पनि विषाक्तता हुँदैन। साइड इफेक्ट पनि कम नै छ तर बढी मात्रामा लगाएमा छालामा एलर्जी आउने, पोल्ने र खाएमा टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, रिँगाउने, बान्ता हुने जस्ता समस्याहरू देखिन सक्छन्।

गर्भवती महिलाले अधिक मात्रामा सेवन गरेमा गर्भपातको समस्या पनि देखिन सक्छ। धेरै अनुसन्धान नभएका कारण सुत्केरी र बच्चालाई दूध खुवाउँदै गरेकी आमाले यो सेवन नगरेकै उपयुक्त हुन्छ।

कसैले लगातार सेवन गर्दा ६ हप्ताभन्दा बढी खानु हुँदैन। खानु नै परेमा २ हप्ता नखाने र पुनः लगातार ६ हप्तासम्म सेवन गर्न सकिन्छ। यसलाई बिरामीले निन्द्राको गोलीसँग खानु हुँदैन। कोलेस्ट्रोल र हाइपोग्लेसेमियाका बिरामीहरूले पनि ध्यानमा राख्नुपर्छ र डाक्टरको सल्लाह सुझावपछि मात्र खानु पर्छ।

घोडताप्रे चिकित्सा क्षेत्रमा ठूलो सम्भावना बोकेको जडीबुटी हो तर यस विषयमा अझै धेरै अनुसन्धानहरू नभएका कारण बिना जानकारी धेरै प्रयोग गर्दा स्वास्थ्यमा हानी पुग्न सक्छ।